गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय मर्याक्रममा संशोधन भइरहेको बताएका छन। संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री थापाले राष्ट्रिय मर्यादाक्रमबारे लामो समयदेखि छलफल र बहस भइरहेकाले त्यसलाई सम्बोधन गर्नका लागि मर्यामक्रम संशोधनको चरणमा रहेको जानकारी दिए। उनले भने, सरकारले समिति बनाएर राष्ट्रिय मर्यादाक्रम निर्धारण गर्न लागेको हो। अहिले मन्त्रिपरिषदमा पुगेको छ। केही सच्याउनुपर्ने भएकोले सच्याइएको छ।गृहमन्त्रीका अनुसार छिट्टै अबको केही समयमा नै मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम निर्धारण भएर सार्वजनिक हुनेछ। सांसदहरूले पूर्वमन्त्रीलाई वर्तमान संघीय सांसदभन्दा माथि राखेको, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको मर्यादाक्रम नमिलेको, प्रदेशसभाका उपसभामुखलाई मर्यादाक्रममा नै नराखेको तथा जिल्ला समन्वय समितिका पदाधिकारीलाई नचिनेको भन्दै सांसदहरूले सरकारले जारी गरेको मर्यादाक्रमको विरोध गरेका थिए। गत बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने नयाँ मर्यादाक्रम मन्त्रिपरिषदले पास गरिसकेको बताएका थिए। उनले राजपत्रमा प्रकाशित हुने चरणमा गएको जानकारी दिएका थिए। सरकारका प्रवक्ताको उक्त भनाइप्रति गृहमन्त्रीले भने अनविज्ञता जनाएका थिए। सांसद प्रेम सुवालले प्रवक्ताले सार्वजनिक गरिसके भन्ने चासोमा गृहमन्त्रीले भने, “उहाँले के भन्नुभयो थाहा भएन, तर राष्ट्रिय मर्यादाक्रम मन्त्रिपरिषदमा पुगेको छ। पास भइसकेको छैन।”