प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले होली पर्वको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले आज एक शुभकामना सन्देश प्रकाशित गरी नेपालको मौलिक पर्व रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ ।
उहाले होली पर्व मनाउँदा सामाजिक एकता र सद्भावलाई बढाउन अराजक र उच्छृखंल क्रियाकलापलाई रोक्दै सही ढंगले मनाउन पनि आग्रह गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले बिज्ञप्तिमा भन्नुभएको छ पर्व र संस्कृतिलाई सही ढंगले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सक्दा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जान्छ । लामो संघर्षबाट प्राप्त राजनैतिक व्यवस्थालाई संस्थागत र बलियो बनाउन सक्दा नागरिक आकांक्षा सहजै पूरा गर्न संभव छ । राजनैतिक स्थिरताले मात्रै मुलुकले समृद्धिको फराकिलो यात्रा तय गर्न सक्छ । केन्द्र सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सार्दै समृद्ध नेपाल निमार्णको महाअभियानमा अघि बढेको छ । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निमार्ण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।