आज मार्च २० तारिख विश्व मुख स्वास्थ्य दिवस ।
आज विश्व मुख स्वास्थ्य दिवस । बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । मुख स्वास्थ्यको सम्वन्ध विशेषतः खानासँग जोडिएको हुन्छ ।
नियमित मुखको सरसफाइ नगरेमा मुख तथा श्वास गनाउने मात्रै नभइ मुख विभिन्न रोगसमेत लाग्ने डाक्टरहरु बताउँछन् । स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ । स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझ्नुपर्दछ ।
कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थलाई स्वस्थ खानाका रुपमा बुझ्न सकिन्छ । अन्न, आलु, दूधजन्य परिकार र फलफूलमा कार्वोहाइड्रेट पाइन्छ । दाँतमा टाँसिने र रिफाइन गरिएको कार्बोहाइड्रेटयुक्त बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी जस्ता खानेकुरा दाँतका लागि हानिकारक हुने डाक्टरहरुको भनाइ छ । यी खानेकुरा खाएपछि दाँत सफा गर्नु जरुरी हुन्छ ।
दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने दन्त रोग विशेषज्ञ डा। दीपेन्द्र पोखरेल बताउनुहुन्छ । दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएको उहाको भनाई छ । तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने भएकाले समयामा नै सचेत रहनुपर्ने डा। पोखरेलको सुझाव छ ।