आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा २७ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
यसैगरी पर्सामा पनि हावाहुरीले धनजनको क्षति पुर्याएको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ ।
बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन