सरकारले बारा र पर्सामा राहत वितरणको कामलाई आजदेखि प्रभावकारी बनाउने भएको छ । सरकारले प्राकृतिक विपद् प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन सबै संयन्त्र परिचालिन गर्ने तयारी गरेको हो । त्यसको नेतृत्व गृहमन्त्रालयले गर्नेछ । प्रभावितहरुले भने राहतमा समस्या रहेको बताएका छन् । खान र बस्न समस्या देखिएको छ । मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयलाई सबै व्यवस्था मिलाउने हिजो साँझ नै निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक तथा गैह्सरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी विपद् प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने पनि जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुरु गराउन र थप क्षति हुन नदिन टोली परिचालन गरिएको सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकूल बास्कोटाले जानकारी दिनुभयो । बारा र पर्सामा आएको आँधीहुरीले २७ जनाको मृत्यु भएको छ । ६ सय १३ जना घाइते भएका छन् । क्षतिको पूर्ण आकलन गरिएको छैन ।