बाग्लुङको ताराखोलामा उत्पादित नेपाली कागजबाट स्थानीय उद्यमीहरु व्यवसायीक बन्न थालेका छन् । स्थानीय जंगलमा पाइने बरुवाको लोत्ताबाट निर्माण गरिएको नेपाली कागजको माग बढ्न थालेपछि उनीहरु व्यवसायीक रुपमा अगाडि बढेका हुन् ।
अड्डा अदालत लगायतका सरकारी कार्यालयहरुमा हुने लिखतहरु तयार गर्नका लागि बढी प्रयोग गरिने नेपाली कागजको प्रयोग आजभोलि अन्य प्रयोजनका लागिसमेत हुन थालेकाले व्यवसायीक रुपमा यसको उत्पादनमा लागेको उद्यमीहरु बताउँछन् ।
उचित प्रशोधनको अभावमा जंगलमा खेर गइरहेको बरुवा संकलन तथा प्रशोधन गरेर उनीहरु समूह बनाएर उत्पादनमा लागेका छन् । बागलुङको ताराखोलामा दुई दशकदेखि घरेलु प्रविधिबाट व्यक्तिगत रुपमा हाते कागज उत्पादन हुदै आएकोमा दुई वर्षयता विभिन्न समूह गठन गरेर उत्पादन भइरहेको छ ।
केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै गएर कागज उत्पादन सम्बन्धी तालिम दिएको थियो ।
परम्परागत शैलीबाट जंगलबाट लोक्ता लिएर मुङ्ग्रोले थिचेर उत्पादन हुदै आएकोमा अहिले आधुनिक प्रविधि अपनाइएको हो । पुरानो प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकोमा अहिले आधुनिक उपकरणको प्रयोग गरेसंगै चार सय थान उत्पादन हुन थालेको बताइएको छ ।
नेपाली कागजको उत्पादन वृद्धि गर्नका लागि गाउँपालिकाले विस्तृत अध्ययन सुरु गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।