लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार गजल विषयक अवधारणा तथा कृति चर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलको सभाहलमा भएको कार्यक्रममा साहित्यकार रमेश समर्थनले गजल विषयक सङ्क्षिप्त अवधारणा प्रस्तुत गर्नुभएको थियो भने सहभागीद्वारा सोधिएका गजलसम्बन्धी प्रश्नहरूको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेर नेपाली भाषा, साहित्य मार्फत् गजल विधामा कलम चलाई नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार सरोज भण्डारीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरि कार्यक्रममा प्रगतिशील लेखक ऋषि आजादको समीक्षा सङ्ग्रहको बारेमा परिचर्चा समेत गरिएको थियो । सोही क्रममा बोल्दै डा. बाबुराम ज्ञवालीले ऋषि आजादको कृतिले लेखकहरूलाई साहित्य रचना गर्न उत्साहित गरेको र यस खालका समीक्षाले साहित्य साधनामा लाग्नेलाई उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यता, वाङ्मयका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवाली तथा आख्यानकार वनमाली निराकारको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा ऋषि आजाद, कृष्णप्रसाद कोइराला, भुवनसिंह विश्वकर्मा, लक्ष्मण ज्ञवाली, कृष्णप्रसाद ज्ञवाली, गङ्गा अभिलाषी, लीलाधर प्रतीक, यज्ञलाल सुवदी, अनुराधा ढकाल, दुर्गा पौड्याल, शशी पन्थी, चन्द्र डुम्रे, रमा पाण्डे, वासुदेव पोख्रेल लगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा संयोजन विष्णु विवश पोख्रेलले गर्नुभएको थियो ।