गुल्मीमा उत्पादन भइरहेको कफी स्वदेशका ठूला सहरसँगै जापान, फ्रान्स र कोरियालगायत मुलुकमा निर्यात भइरहेको छ । यसबाट विदेशी मुद्रा आर्जन हुन थालेपछि कफी उत्पादक उत्साही छन् । अन्न बालीबाट भन्दा ५र६ गुना बढी फाइदा मिल्न थालेपछि उनीहरू हौसिएका छन् । नगदेबालीले ग्रामीण क्षेत्रका कृषक स्वरोजगार उन्मुख भएका छन् ।
५ वर्षमै फल लाग्ने भएकाले पढेलेखेका युवामा अन्नबाली मासेर कफी खेती गर्ने होड चलेको छ । जिल्लाका १२ वटै स्थानीय तहमा खेती विस्तार भएको छ ।
करिब ३ हजार कृषकले खेती गरिरहेका छन् । रुरु गाउँपालिका १ की मना भट्टराईले खेतबारीमा कफी रोपेकी छन् । १८ रोपनीमा २ हजार ५ सय बोट छन् ।
नयाँगाउँकी कमला थापाले भिरालो बारीमा खेती गरेकी छन् ।
रुरु र छत्रकोट गाउँपालिकामा कफी उत्पादन प्रशोधन र खरिद बिक्री हुन्छ । बलेटक्सारको भण्डारीडाँडामा कफी अनुसन्धान कार्यक्रम सञ्चालन हुँदै छ । जिल्ला संघका अध्यक्ष यमबहादुर थापाले कफीको बोटमा गबारो लगायत रोग लागे पनि विषादी छर्न मनाही गरेकाले गुणस्तरीय र अर्गानिक भएको बताए ।
बिक्रीको सुनिश्चित गरेपछि बर्सेनि कृषकको संख्या थपिँदै छ ।
गुल्मी अर्घाखाँची पाल्पा प्युठान र स्याङजा जिल्ला हेर्ने गरी तम्घासमा कफी सुपरजोनको कार्यालय स्थापना भएको छ । जोन प्रमुख उमानाथ भण्डारीले पहिलो चरणमा क्षेत्र छनोटको काम सकिएपछि सूचीकृत गर्ने र समिति गठन प्रक्रिया अघि बढेको बताए । १५० रोपनी क्षेत्रफल निर्धारण गरेर क्लस्टरमा कृषकलाई आबद्ध गराएर खेती गर्ने योजना जोनको छ ।
स्वायत्त अधिकारसहितका स्थानीय तहले पनि कफी खेतीलाई प्राथमिकतामा राखेका छन् । बजेट विनियोजन गरेर कफी खेतीबाट सम्बद्ध पालिका बनाउने योजनामा उनीहरू छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा छ । २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गबारो रोग नियन्त्रण, कफीका बिरुवा उत्पादन गर्ने र कृषकलाई प्रोत्साहन लगायतका कार्यक्रम रहेको नगरले जनाएको छ । अरू पालिकाले पनि बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेका छन् ।