सरकारले गरेको कर्मचारी समायोजनले आफुहरुको बृद्धि–विकासमा असर परेको भन्दै गुल्मी जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । सरकारले डाक्टहरुलाई संघबाट छुट्याएर स्थानीय तहमा पठाउने निर्णय गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
खासगरि डाक्टरहरुको यो आन्दोलन स्वास्थ्य र सामान्य मन्त्रालयसँग सम्बन्धि छ । तर यसको असर भने गाउँका सर्वसाधारण नागरिकहरुलाई परेको छ ।
अस्पतालको ओ।पि।डि। सेवा बन्द हुँदा अधिकाशं बिरामीहरु अस्पतालकै आकस्मिक कक्ष वा निजि मेडिकलमा धाउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा बिरामीहरुले आर्थिक लगायतका धेरै समस्या झेल्नुपर्छ ।
गुल्मी अस्पताल तम्घासमा बिहानैदेखि नै बिरामीहरु घुँइचो दखिनछ । तर अस्पतालका बिरामीप्रति डाक्टरको कुनै प्रतिक्रिया नभएपछि सबैजसो बिरामीहरु तितरबितर हुने गर्दछन् ।
सरकारको समायोजन प्रक्रियाले बृद्धि विकासमा गम्भीर असर परेको भन्दै त्यसविरुद्ध चिकित्सकहरुले जान्दोलन जारी राख्दा दैनिक सयौँको सङ्ख्यामा बिरामी मर्कामा पर्दै आएका छन् । अस्पताल जस्तो अत्यावश्यकीय सेवा क्षेत्रमा बन्द–हडताल गर्न नपाउने नियमलाई चुनौती दिदैँ डाक्टहरु भने आन्दोलनमा उत्रिएका छन् ।
उनीहरु आन्दोलनमा उत्रिएसँगै कमजोर आर्थिक अवस्था भएका बिरामी बढी मर्कामा परेका छन् । निजी मेडिकलमा उपचार गराउने हैसियत नभएकाहरुले भने अस्पतालकै ओपिडी सेवाबाट सेवा पाउने प्रतिक्षामा छन् । बिरामीहरु डाक्टरको आश गरिरहेका छन् । तर डाक्टर भने कर्तव्यभन्दा बाहिर रहेर आन्दोलनमा छन् ।
सामान्यतया गुल्मी अस्पतालमा दैनिक सरदर दुई सयको सङ्ख्यामा बिरामी आउछन । अस्पताल बन्द हुँदा झण्डै एक हजार बिरामी प्रभावित भएका छन् ।
तर बिरामीलाई मर्का पर्नेगरी डाक्टरले आन्दोलन गर्नु दुःखद रहेको नागरिक समाजको ठम्याई छ । आफुहरुलाई केन्द्र मातहत राखेर समायोजन गर्नुपर्ने सरकारी चिकित्सकहरुको माग छ ।
आफुहरुले सांकेतिक रुपमा यसभन्दा अगाडी नै विरोध गरेपनि त्यसको कुनै सुनुवाई नभएपछि बाध्य भएर अस्पताल नै ठप्प गर्नुपरेको गुल्मी अस्पतालकी मेडिकल अधिकृत सोफिया थापाको भनाई छ ।
सरकारले आफुहरुका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि उनले दाबी गरिन् । तर अस्पतालमा आकस्मिक सेवा भने सधै खुल्ला रहने उनले जानकारी दिइन् ।