बिहिबार जीप दुर्घटनामा मृत्यु भएका पुर्व सांसद तथा कांग्रेस नेता रुद्रमणी शर्मा भण्डारीको अन्त्येष्टि गरिएको छ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री डाक्टर शसांक कोइरालाले दिवंगत भण्डारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पनि सांसद भण्डारीलाई श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए ।
मन्त्री बिष्टले भण्डारीको निष्ठा, सोच र आर्दशता सवै पार्टी, नेता र कार्यक्रताको लागि प्रेरणाको बिषय भएको बताए ।
नेपाली कांग्रेस गुल्मीले राखेको शोक सभालाई संबोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले यो घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुखद भएको बताए ।
मृत्यु सत्य भएकाले अव भण्डारीको निष्ठा र सपनालाई पुरा गर्ने काम पार्टीको भएको बताए । महामन्त्री शसांक कोइरालाले पछिल्लो समयको आर्दश पुरुषको निधनले आफुहरुलाई ठुलो क्षति पुगेकाले यसको परिपुरणमा सवै मिले अगाडी बढ्नुको बिकल्प नभएको बताए ।
त्यस्तै ५ नं प्रदेश सभा सदस्य दिनेश पन्थीले दिवङगत भण्डारीको भौतिक उपस्थिती अव नभए पनि उहाँले देखाएको बाटो विकास र बिचार सम्पूर्ण गुल्मेलीमा अडिग भएर रहेको बताए ।
त्यस्तै कांग्रेस केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारी जिल्लाको असल अभिभावक मात्रै नभएर लोकतान्त्रिक मुल्य र मान्यतामा समेत क्षति पुगेको बताए । उनले नियती कसैको पकडमा नभएकाले शोकलाई शक्तिमा रुपान्तरण गरेर रुद्रमणीले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले संगठन बिस्तार अभियानकै क्रममा ढलेका साद्गी एवं आर्दशबादी नेताको दुर्घटनाले पार्टीमा ठुलो क्षति पुगेको बताए ।
त्यस्तै गुल्मीका पुर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेनल चन्द्र केसी नेकपा जिल्ला सचिव बुद्धि जिसी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
गुल्मीको मुसिकोट नगरपालिका १ थामको च्यानडाँडामा भएको जीप दुर्घटनामा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा मालिका गाउँपालिका २ का ८ बर्षिय ओस्कर विक र सोहि स्थानकै २६ बर्षीया कौशिला थापाको ज्यान गएको थियो ।
घाइते सात जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।