प्राकृतिक विपत्ति र दुर्घटनाको वर्ष २०७५ बनेको छ । विक्रम सम्बत् २०७५ साल प्राकृतिक विपत्तिका कारण पनि दुःखद् वर्षको रुपमा रह्यो । नेपालमै पहिलो पटक आएको भूमरी सहितको हावाहुरी टोर्नाडो जस्ता प्राकृतिक विपत्तिले कयौँलाई घरबारविहिन बनायो भने कयौँले आफन्त गुमाए ।
यस्तै बाढी पहिरो चट्याङ जस्ता विपत्तिबाट पनि धेरैले ज्यान गुमाएका छन् । नेपाली आकाशमा यो वर्ष दुई वटा हेलिकप्टर दुर्घटना भयो ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कयौँले ज्यान गुमाए । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ले २८ जनाको ज्यान लियो ।
वर्षको अन्तिम महिना चैत १७ गते साँझ आएको टार्नाडोले बारा पर्सामा झण्डै १ हजार २ सयभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त बनायो । हावाहुरीबाट ११ पुरुष, ११ महिला, २ जना बालक र ४ जना बालिकाले ज्यान गुमाएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
वर्ष २०७५ मा बाढी पहिरोका कारण ८८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो वर्ष चट्याङले पनि ६७ जनाको ज्यान लिएको छ । यस वर्ष आगलागी परेर ८७ जनाले ज्यान गुमाउनु पर्यो भने अन्य प्राकृतिक विपत्तिमा ३२ जनाले ज्यान गुमाएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो वर्ष हेलिकप्टर दुर्घटनामा देशले महत्वपूर्ण व्यक्तिहरु गुमाएको छ । २ जेठ २०७५ मा मकालु एयरको कार्गो विमान हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटना हुँदा विमानका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भयो ।
यस्तै भदौ २३ गते गोरखाको सामागाउँमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भयो । यो दुर्घटनामा ५ जनाको मृत्यु भयो भने १ जना बाँच्न सफल भए ।
फागुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा भने देशले बहालवाला मन्त्री र अन्य विशिष्ट व्यक्तिहरु गुमाउन पुग्यो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्र्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
यो समाचार नवराज फुयाँलले उज्यालोमा लेखेका छन् ।