विजय नेपाल पोखरा, ३० चैत
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले वर्चस्व कायम गरेको छ । पुरुषतर्फ नेपाली सेनाका दीपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पूरा गरी स्वर्ण जिते ।
आर्मीकै बसन्त थारु १ मिनेट पछि पर्दा रजत पदकमा चित्त बुझाए । उनले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पूरा गरे । एपीएफका नितेश मानन्धरले १ घण्टा १५ मिनेट ९ मिनेटमा दुरी पूरा गरी तेस्रो भए ।
महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण जितिन् । उनले १ घण्टा २२ मिनेट समय लगाइन् । सेनाकी केशरी थापामगरले १ घण्टा २९ मिनेट ३० सेकेण्डमा र गण्डकी प्रदेशकी जमुना थापाले २ घण्टामा दुरी पूरा गरी क्रमशः रजत र कास्य जिते ।
दुवाथलन इभेण्टतर्फ पुरुषमा सशस्त्रका लक्ष्मण मल्लले स्वर्ण जिते । उनले १ घण्टा १ मिनेट १५ सेकेण्डमा दुरी पूरा गरे ।
सेनाका हिमाल तामाङले रजत र एपीएफका किरणकुमार मल्लले कास्य पाए ।
महिलातर्फको एपीएफकी हुमी बुढामगरले स्वर्ण जितिन् । उनले १ घण्टा १६ मिनेट १७ सेकेण्डको समय लगाइन् । एपीएफकी निर्जला ताम्राकारले रजत र एपीएफकी शकुन्तला बुढामगर तेस्रो भइन् । सो इभेन्टमा गण्डकी प्रदेशबाट ६ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
संघ अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले पूर्वाधार अभावमा प्रदेश ५ मा हुने भनिएको प्रतियोगिता गण्डकीमा सारिएको हो ।
नेपाल ट्रायथलन संघ कास्कीका सचिव प्रकाश बरालले ट्रायथलनअन्तर्गत स्प्रिन्टमा साइक्लिङ २० किमी, स्वीमिङ ७५० मिटर, दौड ५ किमी तय गरिएको थियो । प्रतियोगिता फेवाताल किनार गौरीघाटदेखि मुस्ताङचोकसम्म भएको हो ।
दुवै इभेन्टमा गरी ५१ जना खेलाडीको सहभागिता रहेको थियो । उत्कृष्ट खेलाडीले एशियन कप तथा साउथ एशियन च्याम्पियनसीपमा भाग लिन पाउनेछन् ।