सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुईको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् ।
लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी असई रामबहादुर खड्काको ज्यान गएको हो ।
घाइते हुनेमा ड्युटीमै खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ, समीट एयरका पाइटल रवीनाथ रोकाया र मनाङ एयर हेलिकोप्टरका पाइटल चेतबहादुर गुरुङ रहेका छन् । घाइते पाइटल रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमा उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल पुर्याइएको छ ।
हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ । विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने नियन्त्रणमा लिइएको छ ।