नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिन्छन्। संसारभरी यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गर्न नेपालले ठूलो क्षमता राख्छ। तर, क्षमता अनुसारको पर्यटक आगमन भने सुस्त छ। यसमा अनेक कारण छन्।
जसमध्ये राजनितिक अस्थिरता मुख्य कारण थियो। २०७२ को विनाशकारी भूकम्प त्यसपछि नाकाबन्दीले नेपालको पर्यटन क्षेत्रलाई नराम्रोसँग झट्का दियो। तर,अहिले सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरिरहेको छ।
यसैको पूर्वसन्ध्यामा आर्ट काउन्सिलको तेस्रो र चौथो तल्लाको हलका भित्तामा एक सय एक फोटोहरू राखिएका छन्। नेपाली संस्कृतिदेखि प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व, ऐतिहासिक सम्पदा, परम्परा, सांस्कृतिक चाडपर्वहरू, प्राकृतिक सौन्दर्य, जीवनशैली, हिमाल, पहाड, तालतलैया, फूल, जनावर, चराचुरुङ्गी, जात्रा, पूजा लगायतका फोटो राखिएका छन्।
नाम र फोटो क्याप्सनसहित राखिएका ती फोटोहरु साँच्चीकै सुन्दर लाग्छन्। जहाँ दुई दर्जनभन्दा बढी फोटोग्राफरका १०१ ती फोटामा पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मका भूगोल, समाज, प्रकृति, संस्कृति, जीवनशैली, वन्यजन्तुको चित्रण देख्न सकिन्छ ।
नेपाल सुन्दर छ नाराका दिइएको फोटो प्रदर्शनीको यो दोस्रो संस्करण हो। यसअघि २०७२ सालमा भूकम्पलगत्तै विश्वभर नेपाल बारे फैलिएको भयावह समाचारहरूको असर कम गर्न सन् २०१५ को सेप्टेम्बरमा पहिलो संस्करण आयोजना गरिएको थियो। शुक्रबारदेखि सुरू भएको फोटो प्रदर्शनी चार दिन चल्नेछ।