अनिल खत्री
गुल्मी – मुसिकोट नगरपालिका वडा ७ र वडा ३ को जोड्ने झेंदीमा निर्माणाधीन बडिगाड खोलाको पक्की पुल गत वर्ष असार २७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने थियो । नौ महिना ढिला भइसकेपछि यो पुलले चर्चा पायो ।
चर्चा भने निर्माणकै क्रममा भत्किएको कारण पाएको हो । कुल पाँच करोड १७ लाख ८४ हजार रुपैयाँमा ५८ मिटर लम्बाइ , ७.२ मिटर चौडाइ ८.५ मिटर उचाई रहेको प्रि स्ट्रेस पुल ढलान हुने क्रममै आइतबार मध्यभागबाट नै भत्किएको हो ।
निर्माण हँुदै गरेको पुल भाँचिएपछि एलआरबिपीको विज्ञ सहितको टोली अनुसन्धानका लागि आउने भएको छ । यसरी बिचमै पुल भत्किएपछि के कसरी र किन भाँचियो भन्नेबारे अनुसन्धानका लागि विज्ञसहितको टोली गुल्मी आउन लागेको पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर विनोद चौधरीले जानकारी दिनुभयो ।
शनिबार र आइतबार बाग्लुङ साइडमा अत्यधिक पानी परेको थियो । पुल ढलान गर्ने क्रममा पर्याप्त मात्रामा टेकाहरु नभएको र खोलामा पानीको मात्रा बढेका कारण पुल भात्किएको हुनसक्ने अनुमान गरिएको पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर चौधरीले बताउनुभयो ।
मुसिकोट नगरपालिका गुल्मीका नगर प्रमुख सोमनाथ सापकोटाले डिजाइन गर्ने प्राविधिकहरूकै कमजारी भएको आरोप लगाउनुभएको छ् । उहाले पुलको निर्माण चरणदेखि नै आफूहरूले डिजाइन ठाउँ अनुसारको नभएको भने तापनि उनीहरूले नसुनेको बताउनुभयो ।
परिणाम निर्माण व्यवसायी ऋषिराम इटनी सहित ५ जना घाइते भए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार निर्माण व्यवसायी ५२ वर्षीय ऋषिराम इटनी, मसिकोट नगरपालिका वडा ३ का २३ वर्षीय रामबहादु्र कुमाल, सोही वडाकै ३३ वर्षीय गणेश कुमाल, ५१ वर्षीय रुद्रबहादुर कार्की, बाग्लुङ जिल्ला बढिगाड गाउँपालिका वडा ७ का २७ वर्षीय तुलबहादुर राना रहेका छन् ।
घाइतेमध्ये निर्माण व्यवसायी इटनीको अवस्था गम्भीर रहेको छ । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)अन्तर्गत बनाइएको निर्माणको अवधि सकिए पनि म्याद थप नगरेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।
पुलको नेपाल सरकार श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले स्थलगत अनुगमन गरिसक्नु भएको छ ।