जल तथा मौसम विभागले भोलीसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ । आज र भोली पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको मौसम विभागले निकालेको विज्ञप्तीमा लेखिएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ । आज तराईका विभिन्न स्थानमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै सचेत गराईएको छ । भोली देशका विभिन्न क्षेत्रमा मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ ।
यसैबीच हिजो साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ ।
कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् । धर्मनगरको महल इँट्टा उद्योग रहेको घरमा चट्याङ पर्दा सोही उद्योगमा काम गर्ने मजदुरहरु घाइते भएका हुन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो ।
हुरीले फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ३ र ६ को क्रमशः पुरैनिया र गछीया टोलको थुप्रै टेन्ट उडाएको स्थानीयले बताएका छन् ।