नेपाल सरकारले करिब २० अर्बको महंगो लगानीमा लगानीमा फ्रान्ससँग पहिलो स्याटेलाइट किन्ने गृहकार्य गरिरहेकै बेला विहीबार एकाएक खबर आयो नेपालले अन्तरीक्षमा पहिलो स्याटेलाइट पठायो ।
र, प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको सगर्व घोषणासमेत गरे ।
अमेरिकाको हारवर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटकै रुपमा प्रचार गरिनु ‘डुंगालाई पानीजहाज भनेजस्तै’ भएको बताएका छन् ।
श्रेष्ठले ट्विट गर्दै भनेका छन् ‘नानो स्याटेलाइटलाई परम्परागत रुपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु डुंगा चलाएको कुरालाई पानीजहाज भनेर प्रचार गर्नुजस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है, अल्लि हल्ला कम गर्ने कि ?’
एकातिर नेपाल सरकारले स्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको र अर्कोतर्फ नास्टको करिब डेढ करोड लगानीमा पहिलो स्याटेलाइट नेपालले अन्तरीक्षमा पठाएको समाचारले केही भ्रमहरु उत्पन्न गराएको छ ।
आखिर डेढ करोडको लगानीमै नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्न सक्छ भने फेरि ऋण गरेर २० अर्बको स्याटेलाइट फ्रान्सबाट किन किन्नु पर्यो रु आम जनमानसमा यो प्रश्न पनि उब्जाइदिएको छ नानो स्याटेलाइटको प्रक्षेपणले ।
बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाँबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरीक्षमा पठाइएको हो । नेपालका साथै श्रीलंका र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरु अन्तरीक्षमा पठाइएको छ ।
नेपालले अन्तरीक्षमा पठाएको यो स्याटेलाइट संयुक्त राष्ट्र संघको फेलोसिपमा जापानको क्युटेक यनिभर्सिटीमा भू(उपग्रह प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयार पारेका हुन् ।
यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले यो रकम जापान पठाइसकेको छ ।
नेपाल सरकारले अहिले २० अर्बभन्दा बढीको लगानीमा स्याटेलाइट खरीदका लागि फ्रान्ससँग जीटुजीमार्फत सहमति गरिसकेको छ ।
अबको केही महिनामा मूल्य निर्धारण गरेर औपचारिक सम्झौता गर्ने सरकारको तयारी छ ।
उता सरकारले ऋणमार्फत २० अर्ब खर्च गर्न लागिरहेका रसिया लगायतका कतिपय कम्पनी ९ देखि १२ अर्बसम्ममै स्याटेलाइट उपलब्ध गराउन सकिने बताउँदै आएको छ ।
अनलाइन खबर बाट