प्रदेश पाँचमा सडक दुर्घटना र त्यसमा परी मृत्यु हुनेहरुको संख्या कहालीलाग्दो रहेको देखिएको छ । ट्राफिक कार्यालय बुटवलका प्रबक्ता माधवप्रसाद बुढाथोकीले उपलब्ध गराएको तत्थ्याङकअनुसार यस आर्थिक बर्षको पछिल्लो ९ महिनामा प्रदेशभर ९ सय ७१ वटा सवारी साधन दुर्घटना भएका छन् ।
ट्रक र बस गरी ७६ वटा, ट्रिपर ३० वटा, बस १८ वटा, माईक्रो १० वटा, जिप र कार १ सय २४ वटा, ट्याक्टर ७५ दुर्घटना भएका छन । त्यस्तै टेम्पो ४, मोटरसाईकल ४ सय ४४ वटा अन्य सवारी साधन ६४ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यी दुर्घटनामा परी ३ सय ८४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा पुरुष २ सय ८१ र महिला ६६ जना, बालक २२ र बालिका २५ रहेका छन् । गम्भीर घाइते भई ६ सय ४२ जना अंगभंग भएका छन् । ४ सय ८३ जना सामान्य घाइते भएका छन् । सडक दुर्घटनामा परेर चौपाय ३ वटा मरेका छन भने ६ सय ९६ सवारी साधनहरु क्षति भएका छन ।
नयाँ बर्षको मुखमा आई पुग्दा चैत्र २८ गते गुल्मीमा पनि अर्को दुःखद घटना घट्यो ।
प्रदेश ५ मा सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । साविकको लुम्विनी, भेरी र राप्ती अञ्चलको नम्वर प्लेटमा दर्ता भएका प्रदेश ५ मा कुल सवारी साधन संख्या ६ लाख ५५ हजार २ सय ८७ वटा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यसरी दर्ता भएका सवारी साधनहरु मध्ये ट्रक र बस २१ हजार ५ सय ७५ वटा, जिप र कार २३ हजार २ सय १ वटा, ट्याक्टर ५२ हजार ५ सय ९० वटा र टेम्पो ६ हजार २ सय ४९ वटा छन् । त्यसका साथै, मोटरसाइकलको संख्या ५ लाख ५१ हजार ७ सय ९७ वटा रहेका छन् ।
नौ महिनाको अवधिभित्रमा १ लाख ६० हजार ५ सय ८७ सवारी साधन माथी कार्वाही गरेर प्रहरीले ९ करोड ४८ लाख ८७ हजार राजश्व संकलन गरेको छ ।