भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।
देशभर एकैसाथ आइतबार १५ गते बिहान ७ बजेबाट सुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरी कुल ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीको सहभागिता रहने उहाँले बताउनुभयो । उहाँका अनुसार, कक्षा १२ र कक्षा ११ मा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ छात्रा परीक्षामा सहभागी हुनेछन् ।
वैशाख २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ ।
कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ्ग जिल्लाबाट ५१ जना र कक्षा १२ मा ५९ जना तथा सबैभन्दा धेरै काठमाण्डौ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।
बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ ।
परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच गत चैतमा सम्पन्न एसईई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सीसी क्यामरा जडान गरेको छ ।