बैशाख १५ – नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकार तथा संगीतकर्मी बिजु बज्रको निधन भएको छ । झन्डै ३ दशक देखी निरन्तर नेपाली संगित क्षेत्रमा सकृय बज्रको आईतवार निधन भएको हो ।
२०२८ सालमा गुल्मीको वामिटक्सारमा जन्मेका संगितकार बज्रले २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरे पछि संगीत क्षेत्रमा व्यवसायिक यात्रा शुरु गरेका थिए । आफ्नो ब्यवसायिक सांगितिक यात्राको क्रममा बज्रले पन्ध्र सयभन्दा बढी गीतहरुमा संगीत गर्नुका साथै थुप्रै मन छुने गीत रचना समेत गरेका थिए ।
गुल्मी कलाकार समाज काठमाडौंको उपाध्यक्ष समेत रहेका बज्र मूलधारको संगीत संगसगै पाश्चात्य शैलीको संगीतमा समेत दख्खल राख्ने संगितकर्मीको रुपमा चिनिन्थे ।
फत्तेमान राजभण्डारीको स्वर रहेको “झरी परिरह्यो मनमा थामिदैन आँसु ”, सुगम पोखरेलको स्वरमा रहेको “तिमी म भन्दा कोसौँ टाढा छौ”, कर्णदासको स्वरमा रहेको “बिस्तारै छायो आँखामा अँध्यारो ”, आगन्तुक खरेलको स्वरमा रहेको “कुन रङको कमी थियो र सानु ”, रेशमा सुनुवारको स्वरमा रहेको “मै ठुली भइछु रे” लगायतका गीतहरु उहाँको बहुचर्चित गीत मानिन्छन् ।करिब १४र१५ सयभन्दा बढी गीतमा बज्रले संगीत दिएका छन ।
मुटुरोगबाट पीडित बज्रचार्य यस अघी अस्पातलको शैयाबाट पटक पटक मृत्युलाई जितेर आएका थिए ।
पिता जुठाराज र आमा लक्ष्मीदेवीको माहिलो सन्तानका रुपमा जन्मिएका बज्र पछील्लो समय काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।
बज्रलाई बिहान साढे एघार बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे बाह्र बजेतिर मृत घोषित गरिएको संगीतकार हरि लम्सालले जानकारी दिनुभयो ।
संगीतकार लम्सालका अनुसार संगीतकार बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपश्चात भोलि नै अन्त्येष्टि गरिनेछ ।