१६ वैशाख, काठमाडौं , संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट ९वर्षे०अधिवेशन आजबाट सुरु हुन लागेको हो ।
संघीय संसद सचिवालयले सोमबार अपराह्न ४ बजेका लागि संसदको चौथो अधिवेशनको पहिलो बैठक बोलाइएको जनाएको छ ।
वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यस वर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ ।
राष्ट्रियसभामा आठ विधेयक प्रस्तुतिको तयारी छ । चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन् । सभामै उत्पन्न भएका विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक ९पहिलो संशोधन०, नागरिक लगानी कोष र प्रशासकीय अदालतसम्बन्धी विधेयक रहेको सचिवालयले जनाएको छ ।
चौथो अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ।
यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ। हरेक अधिवेशनमा उक्त प्यानमा रहनेका नाम घोषणा गरिन्छ। यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ। आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन।
सोमबार दिउँसो १ ०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ। सो बैठकले उक्त समय निर्धारण गर्नेछ। बैठकमा शोक प्रस्ताव पारितको कार्यसूची पनि रहनेछ। अधिवेशन नभएको बेलामा मृत्यु भएका पूर्व सांसद्हरुको शोक प्रस्ताव सोमबार पेस हुनेछ।
सोमबारको बैठकमा २०४८ मा गुल्मी ३ बाट निर्वाचित रुद्रमणि शर्मा, यस्तै, २०४८ र ०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकार, २०६४ को संविधानसभा सदस्य दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित हुनेछ।