पाल्पामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। पाल्पाको रामपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक रामपुर नगरपालिका ५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको ज्यान गएको हो। रामपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बेलुकी ८ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपालसिंह रानाले जानकारी दिनुभयो।
मोटरसाइकलमा सवार अर्का युवक १८ वर्षीय राहुल सुनारीलाई रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि सदरमुकाम तानसेन पठाइएको छ । रामपुर नगरपालिका ६ को नयाँबजारबाट विजयपुर बजार हिडेको बा ४५ प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुर हिडेको लु ३ त ७९७२ नम्बरको ट्याक्टर बिहीवार साँझ साढे ६ बजे ठोक्किएका थिए। ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड अन्र्तगत कपिलवस्तु नगरपालिका ८ दोहनीचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भैरहवाबाट तौलिहवाको लागि छुटेको लु १ ख ६१६८ नम्बरको टिपरले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ६१५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु ७ धरमपानीका बालजी धोबीको मृत्यु भएको हो।
यस्तै ललितपुर को एकान्तकुनामा गएराति भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बा २१ च १३ ३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलयात्री भारतीय नागरिक ३५ वर्षीय कमरे आलमको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।