बाङ्मय पुरुष सत्यमोहन जोशी आजदेखि १ सय बर्षमा प्रवेश गरेका छन् । शताव्दी पुरुष जोशीलाई नगरपरिक्रमा सहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो ।
जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् ।
नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उहाँकै निवास पाटनमा पठाउनु भएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याउनु भएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।
राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाउनु भएको मंगलमय कामना सन्देश सोमबार बिहान उहाँकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो ।