बैशाख ३१ – धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा धर्मशालाको काम अलपत्र परेको छ ।
स्वर्गद्वारी आश्रम नजिकै धरमपानीमा ५ वर्षअघि थालिएको अत्याधुनिक भवनसहितको धर्मशाला निर्माण अलपत्र परेको हो ।
तत्कालीन जिल्ला विकास समिति प्यूठान र स्वर्गद्वारी आश्रमको संयुक्त लगानीमा दुई सय ५० शैयाको अत्याधुनिक धर्मशाला निर्माणका लागि पाँच करोड रुपैयाँ लागन अनुमान गरिएको थियो ।
तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ श्यामसुन्दर निर्माण सेवा, काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । तर, बजेट अभाव देखाउँदै उसले बाँकी काम गरेको छैन ।
स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ । स्वर्गद्वारीको पसिरबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ । तर पनि प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ ।
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरु मध्ये स्वर्गद्वारी मन्दिर एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । झट्ट हेर्दा नौ वटा मन्दिरजस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशाला भित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्ति छन् । चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होमन कार्य हुन्छ ।
स्वर्गद्वारीमा वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन । स्वर्गद्वारीमा गाईको महत्व बढि मानिन्छ । महाप्रभुका पालामा स्वर्गद्वारीमा हजारौ गाईहरु थिए । महाप्रभु स्वयमले पनि गाईको सेवा गरेको इतिहास छ । स्वर्गद्वारीमा गुरुकुल विद्यालय छ । गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ ।
स्वर्गद्धारी तपोभूमी प्रदेश नम्वर ५ प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पर्दछ ।
यात्रामा भौगोलिक अवलोकनसँगै प्युठान र रोल्पा जिल्लाका अनगिन्ती डाँडाकाडा समेतको अवलोकन गर्न सकिनछ । स्वर्गद्वारीमा वाह्रै महिना चिसो अनुभव गर्न सकिने हावापानी पाइन्छ ।