गुल्मी।
नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले २६ औं मदन आश्रित स्मृति दिवस आज मनाउँदै छ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।
तत्किलन संगठन विभाग प्रमुख जीवराज आश्रितको गुल्मी गृह जिल्ला हो ।
दिवसका अवसरमा आज तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खु काठमाडौमा कार्यक्रमको आयोजना गरीएको छ । गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुनु हुनेछ ।
कार्यक्रमा जीवराजकी पत्नी माया ज्ञावली सहभागी हुनुहुने छ । मदनकी श्रीमती विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ। पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा भण्डारी र आश्रित चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा पर्नु भएको थियो ।
जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित भेटिनु भएको थियो। लामाको २०६० सालमा हत्या भएको थियो ।
मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्दभिक रहेको बताउँदै उहाजस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् ।
भण्डारी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बन्नु भएको थियो।
विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नु भएको थियो ।
भण्डारीले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउनु भएको थियाे ।