प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो ।
उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो ।
अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उहाँले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गर्नुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै समाजवाद स्थापना भइहाल्ने अवस्था नरहेको बताउनुभएको छ ।
स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नेकपाको रणनीतिक कार्ययोजना रहे पनि तत्काल त्यसमा गइहाल्न सकिने अवस्था बनिनसकेको बताउनुभएको हो ।
अहिले त्यो स्थिति नबनेको भए पनि हामीले संविधानमा नै समाजवादउन्मुख भनेर रणनीतिक रुपमा समाजवादको यात्रा तय गर्न सफल भएको पनि बताउनुभयो ।
पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद भए पनि दीर्घकालीन रणनीति भने समाजवाद नै भएकाले यही वैचारिक धरातलमा पार्टी एकता भएको पनि बताउनुभयो ।