घनश्याम पौडेल
अर्घाखाँची, ६ जेठ स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम्स जिल्ला स्तरीय छनोट प्रतीयोगीताको उपाधी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्कले हात पारेको छ ।
सोमबार सम्पन्न खेलमा ३ स्वर्ण,४ रजत र १ कास्य गरी जम्मा ८ पदक प्राप्त गरी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको हो । यस्तै प्रतियोगीतामा सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ स्कुलले ३ स्वर्ण, २ रजत र ५ कास्य गरी जम्मा १० पदक प्राप्तगरी द्धतिय स्थान प्राप्त गरेको छ । त्यस्तै युबाबर्ष रबिचित्र माबिले ३ स्वर्ण,२ रजत गरी जम्मा ५ दपक प्राप्त गरी तृतिय स्थान हात पारेको छ ।
बिजेता टिमलाई आजै एक कार्यक्रमका बिच शिल्ड,मेडल तथा प्रमाणपत्र बितरण समेत गरीएको छ । पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्नु पर्ने बताए ।
देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउन खेलकुद क्षेत्रको माध्यमबाट नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउदै लामीछानेले खेलकुद क्षेत्र र खेलाडीको राज्यले उचित सम्मान गर्नु पर्नेमा जोड समेत दिए ।
यस्तै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकाले यसप्रकारका प्रतियोगिताले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने बताए ।
राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व र जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सम्पन्न प्रतियोगितामा ३२ पदककालागी जिल्ला भरका कुल १४ वटा बिद्यालयको सहभागीता रहेको कार्यालय सचिव जनक गैरेले जानकारी दिए । गतबर्ष सम्पन्न प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधि पनि गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुललेनै हात पारेको थियो ।