काठमाण्डौ
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा यही जेठ २५ र २६ गते काठमाण्डौमा, ललितपुर र पोखराका ३२ परीक्षा केन्द्रमा हुँदैछ ।
परीक्षाका लागि काठमाण्डौमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ । एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अभिमुखीकरणका क्रममा परीक्षार्थीलाई मर्यादित रुपमा परीक्षामा सहभागी हुन आग्रह गरिनेछ । परीक्षाको मर्यादा उल्लङ्घन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्यादित रुपमा परीक्षामा सहभागी हुनु पर्ने छ ।
गएको वर्ष परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० जनालाई सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।
शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्ड विपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको हो ।
कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।
सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३ सय ७६ युवा सहभागी हुँदैछन् । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।
क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ ।