अनिल खत्री
१२ जेठ, गुल्मी ।
सुख्खा समय सुरु भएसंगै गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पानीको ब्यवस्था गरिएको छ ।
रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाल्ने काम सफल भएपछि अरु वडाहरुमा पनि पानीको ब्यवस्था गरिएको छ । तम्घासमा पहिलो पटक परिक्षण सफल भएपछि नगरको वडा नम्बर ८ मा पनि बोरिङबाट पानीको ब्यवस्था गरिएको खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्ष बालसिंह काउछाले बताए ।
तमघासको बसपार्क नजिकैबाट ७५ मिटर गहिराइबाट पानी निकालिएको छ । खानिगाउँ खोनपानी उपभोक्ता समितिमा आबद्ध ३ सय ५० घरधेरीलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको छ । बोरिङबाट खानेपानीको व्यवस्था गर्न रेसुङ्गा नगरपालिकाबाट १६ लाख रुपैयाँ र प्रदेश सरकारबाट २५ लाख गरि ४१ लाखमा निकालिएको हो ।
यस वर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या वढेको हो । बोरिङबाट निकालिएको पानी तत्कालै बितरण टंकीमा लगिएको र सोमबारबाट बितरण गर्न लागिएको छ । जमिनमुनिबाट पानी निकाल्ने प्रबिधि तम्घास निम्ति नयाँ प्रबिधि हो ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।
बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राबिधिक सहयोग गरेको छ । तम्घासमा पिउँने पानीको समस्या हुदै गएपश्चात नगरपालिकाले ट्याङकरबाट दैनिक रुपमा पानी बितरण गरिरहेको छ । बिभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरि मात्रै रकम लिएर पानी बितरण गर्दै आएको छ ।
अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुक्दै जान थालेसँगै यस वर्ष तम्घासमा खोनपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरि वडा नम्बर ९ र ८ मा वढि मात्रामा खानेपानीको समस्या देखिएको छ । भने अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको छ ।