बुटवल
सैनामैना नगरपालिकाले आइतबारदेखि गाउँ ब्लकमा रहेका जग्गाको लालपूर्जा वितरण सुरु गरेको छ।
सैनामैना नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण सुरु गरेको हो। भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री पद्मा अर्याल, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए।
करिब ४६५ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए। गाउँ ब्लकमा रहेका विभिन्न वडाका १७ वटा ब्लकमा सुरु भएको लालपुर्जा वितरणको कामलाई निरन्तरता दिइने छ।
साविकका पर्रोहा र सालझण्डी गाविसअन्तर्गत रहेका विभिन्न १७ वटा ब्लकका गाउँब्लकको समस्यामा रहेका समुदायलाई आइतबार एकैसाथ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए।
२०२३ सालमा तत्कालीन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँ ब्लकका सयौं कित्ताको लालपुर्जा छैन। सोही ब्लकका लागि सैनामैनाले लालपुर्जा वितरण गरेको हो।
पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ। घर वनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकालाई सरकारले पुर्जा वितरण गर्न सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए।
भूमिव्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री पद्माअर्यालले आगामी चार वर्षभित्रमा सवै कुम्वासीलाई जग्गाको मालिक वनाउने बताउँदै समस्याको दीर्घकालीन समाधान सुरु गरिएको बताइन्।
नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व अर्थमन्त्री पौडेलले सरकारले जनताका चाहना अनुसारको विकासका कामलाई तीव्रता दिइरहेको भन्दै अब सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका काम सुरु भएको बताए। त्यसको पहिलो अभ्यासस्वरुप रुपन्देहीको सैनामैनाबाट जनतालाई जग्गाको मालिक वनाउने प्रक्रिया सुरु भएको छ।
प्रदेश ५ सरकारका कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी कृषि क्षेत्रको विकास गरी कृषकको आयआर्जनमा टेवा पुर्याउने कार्यक्रम लागू गरेको बताइन।
राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी जनताको काम गरिरहेको बताउँदै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने अभियान वर्तमान सरकारले सुरु गरेको बताए। नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले देशभर नापीको कामलाई डिजिटलाईजेशन गर्ने काम भइरहेको बताए।