स्रोत
जापानको कावासाकी शहरमा मंगलबार बिहान भीडभाडयुक्त पार्कमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेका छन् ।
घटनामा एक बालिकाको मृत्यु भएको छ भने १९ मानिस घाइते भएका छन् । घाइते मध्य १३ जना बालबालिका छन् ।
घाइते बालबालिका स्थानीय प्राथमिक विद्यालयका विद्यार्थी रहेको आशंका गरिएको छ । आरोपी आफैले आफैलाई घाँटीमा चक्कु प्रहार गरेर आत्महत्या गरेका छन् ।
३ बालबालिका स्थानीय क्यारिटन प्राथमिक स्कुलका विद्यार्थी रहेको विश्वास गरिएको छ । तर, विद्यालयले हालसम्म यसको पुष्टि गरेको छैन । अधिकांशं घाइते बालबालिका ६ वर्षदेखि सात वर्षका छन् । आक्रमण हुने समय ती स्कुल बस कुरिरहेका थिए ।
कावासाकी फायर डिपार्टमेन्टका प्रवक्ताले दिएको जानकारी अनुसार मंगलबार बिहान स्थानीय समयअनुसार ७ः४४ मा इमर्जेन्सी फोन आएको थियो । फोनमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेको जानकारी प्राप्त भएको उनले बताए ।
पुलिसले घटनास्थलबाट दुई चक्कु पनि बरामद गरेको छ । अधिकारीका अनुसार उक्त घटना प्राथमिक विद्यालय नजिकै एक बस स्टपसँगै भएको पार्कमा भएको हो । मृत्यु हुने बालिका पार्कमा खेलिरहेकी थिइन् ।
घटना एउटै व्यक्तिले गरेको जापानी मिडियाले बताएको छ । तिनका अनुसार शंकास्पद आक्रमणकारीको नाम सार्वजनिक नगरिएको भए पनि सो व्यक्ति ४० देखि ५० वर्षबीचको पुरुष हुन् ।
प्रहरीले हालसम्म आक्रमणको कारण पत्ता लगाउन सकेको छैन ।
जापान विश्वमै सबैभन्दा कम हिंसात्मक अपराध हुने देश हो । त्यहाँ सार्वजनिक स्थानमा हुने हिंसाको घटना झनै कम छन् । तर सार्वजनिक स्थानमा हुने हिंसामा धेरै जसो चक्कुको प्रयोग हुने गरेको पाइएको छ ।
सन् २०१६ मा अपाङता भएको व्यक्तिप्रति तीव्र घृणा भएको एक व्यक्तिले टोकियोको एक स्याहार केन्द्र गएर अन्धाधुन्ध चक्कु हानेको थियो । त्यस घटनामा १९ जनाको ज्यान गएको थियो भने २६ घाइते भएका थिए ।
सो घटना जापानको आधुनिक समयको सबैभन्दा ठूलो आपराधिक हिंसा बताइएको थियो ।
त्यस अघि सन् २००१ मा एक व्यक्तिले प्राथमिक विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा आठ बालबालिकाको मृत्यु भएको थियो भने १९ को मृत्यु भएको थियो ।