आज मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस।
नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ।
खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा आज कार्यक्रम हुँदैछ। नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।
पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन्।
सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्राष्ट्रिय रूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो। सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो।