अनिल खत्री
१४ जेठ, गुल्मी ।
कारगारभित्रै कसरी कमाउन सकिन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ । तर, सीपको सदुपयोग भयो भने कारागारभित्र पनि राम्रै आम्दानी गर्न सकिन्छ ।
जिल्ला कारागार गुल्मी भित्र पुगेपछि अनुशासित र पौरखीहरुको बेग्लै संसार देखिन्छ । ६९ जना कैदीबन्दी कसैको हात पनि खाली हुँदैन ।
गुल्मी कारागार भित्रको दृश्य कुनै ठूलो उद्योग, कारखाना जस्तै छ । कारागारभित्र रहेका कैदीबन्दीहरु कसैले बाँस चिर्दै हुन्छन्, कसैले मुढा बुन्दै, कसैलाई ढाका बुनाइको काम भ्याइननभ्याइ छ ।
जिल्ला कारागार गुल्मीका प्रमुख अजुर्न थापाका अनुसार एउटी बालिका बाहेक ६९ जना सबैले रोजगार पाएका छन् । महिनामा १ हजारसम्म मुढा र २ सयवटा टुक्रासम्म ढाका उत्पादन हुने गरेको प्रमुख थापाले बताए । कैदीबन्दीले प्रतिब्यक्ति महिनामा १० हजारसम्म कमाउने गरेको उनले जानकारी दिए ।
कारागारलाई कारागारभन्दा पनि सुधार गृहको रुपमा विकास गर्न रंगरोगन र सबै कोठा उज्यालो बनाउने गरी मर्मत गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।गुल्मी कारागार परम्परागत शैलीमा बनेकोले यसलाई सामान्य मर्मतले भए पनि काम गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । २५ जनाको क्षमता भएपनि यहाँ तेब्बर बढी कैदीबन्दी बस्दै आएका छन् ।
प्रजिअ पौडेलले कैदीबन्दीलाई बन्दी जीवनभन्दा पनि सुधार हुँने अवसर दिनको लागि बिभिन्न संघसंस्थाबाट तालिमहरु दिएर सामग्रीहरु उत्पादन गर्दै आएको बताए । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ । कैदी बन्दीहरुलाई बिभिन्न तालिमहरु दिएर सपि मुलक सिक्ने ठाउँ बनाउने प्रयास गरिएको छ ।
कैदीबन्दीले समाजमा जाँदा सकरात्मक सोचको विकासा गर्न मनोविज्ञान सम्बन्धी तालिम तालिम दिइएको थियो । कारागारभित्र रहेका ४ जना महिलाहरुलाई सुइटर बुनाइ सम्वन्धि ग्रेडिङ्ग तालिम दिन सुरु भएको ।
बन्दी जीवनबाट मुक्त हुनेबेला भएका २६ जनालाई एक महिने हाउस वायरिङ्ग तालिम पनि दिइएको छ । गुल्मी कारागारबाट उत्पादन हुने बिभिन्न बस्तुहरु बिक्री गरेर ४० लाख बढीको कारोबार हुने गरेको छ ।
कारागारभित्र गरिएको बिभिन्न तालिमहरुले उनीहरुमा सकरात्मक सोचको विकाससँगै जिविकोपार्जनमा पनि टेवा पुगेको कारागार प्रमुख थापाले बताए ।