गुल्मी – गुल्मीको मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको युरोपेली देश पोर्चुगलमा सडक दुर्घटनामा परी ज्यान गएको छ ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गएको शुक्रबार स्थानीय समयानुसार राति साढे ९ बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा त्यही राति मृत्यु भएको हो ।
मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भएका छन् । उनको उपचार भईरहेको जनाइएको छ । शर्मा एक वर्ष अगाडि पोर्चुगल गएको लिस्बनमै रहनुभएका उहाँका दाजु अमृतले जानकारी दिनुभयो ।
शर्माको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले जानकारी दिनुभएको छ।
नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाएको छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।