२५ जेठ बडिगाड
बडिगाड गाउँपालिकाको वडा नं ३ सिसाखानीमा खानेपानीको हाहाकार भएको छ । मुहान बस्ती देखि तल र धेरै टाढा भएपछि उक्त स्थानका स्थानियले सास्ती खेप्नु परेको हो ।
साबिक सिसाखानी गा.बि.स वडा नं ७ र ८ मा पर्ने स्याला, चारकपाले, सत्डाडाँ र तारञ्जा लगाएतका स्थानबाट केही स्थानिय खानेपानीकै अभावका कारण बसाइ समेत सर्न थालेका छन् । स्थानिय रुपमा झन्डै २२ बर्ष पहिले लुथ्रन विश्व सेवाले बस्ति देखि ५ किलोमिटर टाढा सोलिघोप्टेको भिरबाट पानि ल्याइ खुवाए पनि हाल जिआई पाइप भाचिएकाले मर्मत गर्न नसक्दा सो समस्या उत्पन्न भएको स्थानिय रमेश बि.कले बताउनुभयो । पानिको मुहानमा पुग्न झन्डै ४÷५ घण्टा लाग्छ ।
झन्दै ७५ प्रतिशत दलित बस्ति रहेको सो स्थानका स्थानियको आर्थिक अबस्था समेत कम्जोर भएकाले खानेपानी मर्मत गर्न नसकिएको बताइएको छ । सामान्य चोया र चित्रोको काम गरी गुजारा चलाउँदै आएका उनिहरुको पानि बोक्दैमा दिन बित्ने गरेको स्थानियको गुनासो छ । जस्का कारण साँझ विहानको छाक टार्न समेत मुस्किल भएको अर्का स्थानिय मन बहादुर बि.क ले बताउनुभयो ।
अहिले त्यहाँका स्थानियले कोन्ताको पानि प्रयोग गर्दै आइरहेका छन् । स्थानियमा बिभिन्न किसिमका रोगहरुले संक्रमण गर्ने गरेको सिसाखानी स्वास्थयचौकीका प्रमुख भक्त बहादुर श्रीसले बताउनुभयो । फोहोर पानिले गर्दा झाडापखाला, हैजा टाइफाइड जस्ता रोगका बिरामी बस्तिबाट स्वास्थयचौकीमा आउने गरेको श्रीसले बताउनुभयो ।
स्थानिय चुनावका वेला नेताहरुले खानेपानीको समाधान गरिदिने भन्दै निकै आश्वासन दिएपनि बाचा पुरा गर्न नसकेको स्थानियको गुनासो छ। कञ्चनापुर आधारभुत बिद्यालय तारञ्जाका प्र.अ पुनराम गिरीले खानेपानी समस्याका कारण बिद्यार्थी बिद्यालय नआउने र भर्ना भएपनि दुई चार मैनामै छोड्ने गरेको बताउनुभएको छ ।
उता सोही वडाका वडा अध्यक्ष खड्क पुनलाई यस बिषयमा जानकारी गराउँदा त्यहाँ पानिको ठुलो समस्या रहेकाले गाउँस्तरको योजनाले समस्या समाधान नहुने भन्दै आफुले गाउँपालिका हुँदै, प्रदेश र केन्द्र सरकारसँग माग पत्र बुझाएर ध्यानाकर्षण गराएको बताउनुभयो । त्यसको लागि वडा र आफ्नो तर्फ बाट सक्दो सहयोग हुने पुनले दाबी गर्नुभयो ।