रामकृष्ण कडेल, जेठ २६ गुल्मी
गुल्मीको गुल्मिदरबार गाउँपालिकाको दरबार देबिस्थानमा पोषण कार्यक्रम सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ साबिकको दरबार देबिस्थान गाबिस वडा नम्बर २ गलामको लालि गुराँस स्वास्थ्य आमा समुहमा आज पोषिलो खिर प्रदर्शनी तथा १००० दिनका आमा तथा बालबालिकालाई पोषिलो खिर खुवाउने कार्यक्रम गरिएको हो।
स्वास्थ्य आमा समूह अन्तरगतका १००० दिनका गर्भवती तथा सुत्केरी आमाहरुलाइ पोषिलो खिर बनाउने तरिका तथा यसको महत्त्वको बारेमा प्रदर्शनी गरिएको छ। एकीकृत ग्रामीण बिकास गुल्मी सुआहारा दोश्रो कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा दरबार देबिस्थान स्वास्थ्य चौकीका अहेव रामकृष्ण कडेल र सुआहाराका फिल्ड सुपरभाइजर कमला बिश्वकर्माले मातृ ,शिशु तथा बाल्यकालिन पोषण अन्तरगत बालबालिकाको दिमागको ८० प्रतिशत बिकास गर्भमा रहे देखि बच्चा जन्मेको २ बर्ष भित्रमा नै हुने भएकोले हरेक बार खाना चार पोषणको आवस्यकता र पोषणको महत्त्व किशोरी अवस्था देखि नै हुने कुरा , गर्भवती अवस्थामा स्वास्थ्य सस्थाबाट पाइने सेवाहरु , गर्भ रहेपछि कम्तिमा ४ पटक अर्थात चौथो, छैटौं ,आठौं र नवौं महिनामा नियमित गर्भ जाच गराउनु पर्ने कुरा, उपयुक्त गर्भाधान समय महिलाको उमेर २० बर्ष पछि हुने र महिलाको उमेर ३४ बर्ष पुगेपछि बच्चा जन्माउन नहुने तथा गर्भान्तर बच्चा जन्मेको कम्तीमा २४ महिना हुनुपर्ने लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा १६ जना १००० दिनका आमाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन महिला स्वास्थ्य स्वयंसेविका नमा टन्डनले गर्नुभएको थियो।