पूर्वी नवलपरासीको चोरमारा बजारमा एउटा बस अनियन्त्रित भएर घर भित्र छिरेको छ। ना २ ख ९०२६ नम्बरको बस अनियन्त्रत भएर घरमा ठोक्किँदा आँगनमा बसिरहेका तीन महिला गम्भीर घाइते भएका छन् । सडकबाट हुत्तिएको बस घरभित्र छिरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मध्यबिन्दुमा पठाइएको चोरमाराका सहायक प्रहरी निरिक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो। घाइतेहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस वसन्तपुरबाट चोरमारा बजारतर्फ आइरहेको थियो ।
मलद्वार नभएकी ८ वर्षीया बालिकाको सफल शल्यक्रिया
जन्मदेखि नै मलद्वार नभएकी ८ वर्षीया बालिकाको सफल शल्यक्रिया भएको छ । दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ की रविना योगी मलद्धारको शल्यक्रिया गरिएको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अवस्थाको जानकारी पाएपछि ग्रीनसिटी अस्पतालले आफ्नै निःशुल्क अप्रेशन गरिदिएको बताइएको छ ।
वरिष्ठ बाल शल्य चिकित्सक डा. गेहराज दाहालको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरेको थियो ।
सालका दुई सय ७२ वटा रुख काट्ने लाई छुटाउन विरोध सभा ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं। ७ बल्ढेङगढीस्थित ढाबमा सालका दुई सय ७२ वटा सालका रुख काट्ने स्थानीयलाई छुटाउन सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाले आज तानसेनमा विरोध सभा गरेको छ ।
विद्युत विस्तार गर्दा पोल तथा तार बिछ्याउने रुटभन्दा बाहिरका सालका रुखहरु काटेपछि जिल्ला वन कार्यालय पाल्पाले स्थानीयमध्ये चार जनालाई पक्राउ गरी हिरासत पठाएको थियो । २५ दिन अघि पक्राउ परी हिरासतमा रहेका ती चारजनालाई न्यूनतम धरौटीमा छुटाउने रणनीति अनुरुप महासंघले तानसेनमा बिरोध सभा गरेको हो ।
बिरोध समाभा बोल्दै महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले स्थानीय स्रोतमाथि समुदायलाई अधिकार दिनुपर्ने भन्दै रुख काट्नेहरुलाई कारवाही नगर्न आग्रह गर्नु भयो । टेलिफोन जिज्ञासामा पनि श्रेष्ठले भन्नुभयो, ‘हामी पनि बन जोगाउने मान्छे हौं तर रुख काट्ने सोझा जनतालाई भन्दा उक्साउनेलाई कारवाही गरिनुपर्छ ।’ कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष निरन्जन भूसाल तथा वल्ढेङगढीका स्थानीय अगुवा पुरन लम्तरीले पनि पक्राउ परेका ब्यक्तिलाई निशर्त रिहाई गर्न माग गर्नुभयो।