जेष्ठ २७,
आज सातौ राष्ट्रिय कृषक दिवस देशभरी मनाईदैछ । नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ । आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
वि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउँदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ । नेपालको कुल जनसंख्या मध्ये अहिले ६५ प्रतिशत व्यक्ति कृषि पेशामा आवद्ध छन् ।
यो वर्ष सातौ राष्ट्रिय कृषक दिवसको मुख्य नारा “कृषकलाई सम्मानित गरौँ , कृषि विकासमा सहयोगी बनौं“ भन्ने रहेको छ ।
आज प्रदेश नम्बर ५ रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा बिशेष कार्यक्रम गरिने कृषक सेवा समितिका अध्यक्ष देव धवलले जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सहयोगमा हुने कार्यक्रममा प्रत्येक वडाका पशु तथा कृषितर्फका एक एक जना कृषकलाई सम्मान गरिने समाजसेवी संजय गुप्ताले बताउनु भयो । नेपालमा कृषिप्रधान देश भए पनि किसानलाई उपेक्षित गरिएकोले किसानलाई प्रोत्साहन गर्न पनि सम्मान कार्यक्रम राखिएको गुप्ताले बताउनु भयो ।
कृषक दिवस समारोह संघीय सरकारका कृषि, भुमिव्यस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यता, प्रदेश ५ सरकारका कृषि, भुमिव्यस्था तथा सहकारी मन्त्री आरती पौडेलको विशिष्ट आतिथ्यतामा हुने छ ।
नेपाल विकासतर्फ लम्किदै गर्दा कृषक वर्ग तथा कृषि क्षेत्रको विकास तथा किसानको सम्मानमा कमी नआओस भन्ने उद्धेश्यले वर्ष जेठ २७ गते प्रत्येक राष्ट्रिय कृषक दिवस मनाउँदै आएको कृषक सेवा समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाले शिक्षा पछि कृषिलाई प्राथमिकतामा राखेर काम गरीरहेको र आगामी खआर्थिक बर्षमा पनि त्यसैलाई निरन्तरा दिने बताउनु भयो ।
कृषक समुहले समयमा मल बीउ उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था गर्नुपर्ने कृषलाई व्यवसायीक बनाउन बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका १३ बुदे माग समेत राखेको छ ।