काठमाण्डौ
भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नु भएको हो ।
भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताउनु भयो । उहाँले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताउनु भयो ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम झण्डै ७० प्रतिशत भन्दाबढी सम्पन्न हुनु आफ्नो देशका लागि सुखद् समाचार भएको पनि बताउनु भएको थियो ।
भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारत सरकारले अनुदान रकममध्ये पहिलो किस्ता गत बर्ष साउनमा दिएकाे थियाे ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव लाई २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गर्नुभएको थियाे ।
भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बरबरको सहयोगको घोषणा गरेको थियो । २०७२ फागुन ८ गते नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो ।
नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ ।