बुटवल
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ काउन रुपन्देहीको आयोजनामा निर्माण क्षेत्रमा कामगर्ने मजदुरलाई कार्यस्थलको सुरक्षा तथा बैदेशिक रोजगार सम्बन्धि एक दिने तालिम प्रदान गरिएको छ ।
बुटवलमा आयोजना गरिएको तालिममा काउनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले कार्यस्थलको सुरक्षा र केन्द्रीय सदस्य रामअवतार चौधरीले वैदेशिक रोजगार सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।
उक्त तालिममा रुपन्देही र कपिलबस्तुका निर्माण क्षेत्रमा काम गर्ने ३० जना निर्माणकर्मी मजदुरको सहभागि रहेको थियो ।
तालिमको उद्घाटन गर्दै नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ काउनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले निर्माणका क्षेत्रमा काम गर्ने मजदुरका लागि नेपाली राम्रो कमाई रहेकाले बैदेशिक रोजगारी नअपनाउन र अपनाउनै पर्ने भएपनि सहि सूचना लिएर जान आग्रह गर्नुभयो ।
उहाँले बैदेशिक रोजगारीमा जाँदा नबुझिकनै गएका कारण धेरै दुःख भोग्नु परेको तथा समस्या व्यहोर्नु परेका धेरै उदाहरण रहेको भन्दै कुन देश जाने, कुन कम्पनीमा काम गर्ने, कति समय काम गर्नुपर्ने, काम गर्दा पाउने तलव सुविधा लगायतका सबै सूचना लिएर मात्रै जान आग्रह गर्नुभयो ।
काउन रुपन्देहीका अध्यक्ष बिरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामअवतार चौधरी, नारायण सुनार, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, काउन रुपन्देहीका सल्लाहकार सोमबहादुर थापा ट्रेड युनियन काँग्रेस रुपन्देहीका कोषाध्यक्ष तथा काउन बुटवल नगर समितिका अध्यक्ष सुर्यदेव दास लगायतले सकेसम्म बैदेशिक रोजगारी नअपनाउन र अपनाउनै परे सहि सूचना लिएर आफू नठगिने तथा अफ्ठ्यारोमा नपर्ने गरी जान सुझाव दिनुभएको थियो ।
काउन रुपन्देहीका उपाध्यक्ष तथा तालिम कार्यक्रमका संयोजक हिराबहादुर थापाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सहसचिव नरसिंह रावले गर्नुभएको थियो ।