बुटवल ।
प्रदेश ५ को गत वर्ष प्रदेश सभाबाट गठन भएको प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको बिशेष समितिको म्याद फेरि थपिने भएकाे छ।
बिहिबार बस्ने बैठकले यस पटक ६ महिना थप गर्ने छ ।
बिगतमा २ पटक ३–३ महिना समितिको म्याद थपेको प्रदेश सभाले यस पटक ६ महिना थप गर्दै छ।
प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि बनाइएको विशेष समितिले प्रतिवेदन बुझाउने म्याद यही जेठ २६ गते सकिएको थियो ।
विशेष समितिबाट ६ महिना म्याद थप गर्न अनुरोध आएको र सोही अनुरुप म्याद थप गरिने हो ।
विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञहरुको राय लिएर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिनु उपयुक्त हुने भएकाले समितिको बैठकले म्याद थप गर्न अनुरोध गर्ने निर्णय गरेको बताउनु भयो ।
सभापति मगरका अनुसार समितिले त्रिभुवन विश्वविद्यालयका भूगोल, मौसम, वातावरणविदहरुसँग राय लिन शुरु गरेकोे छ। त्यस्तै सांस्कृतिक तथा सुरक्षाविदहरुसँग राय लिन बाँकी रहेको र उनीहरुसँग पनि राय लिइने छ ।
विज्ञहरुलाई जिल्ला–जिल्लाबाट आएका सुझावहरुका आधारमा राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तु र कोहलपुरका बारेमा अध्ययन गर्न अनुरोध गरिने बताइएको छ।
नामका सवालमा लुम्बिनी प्रदेशका पक्षमा अत्याधिक धेरैले सुझाव राखेको तथा सुझावमा बुद्ध प्रदेश, बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरु पनि आएका थिए।
नामका बारेमा पनि विज्ञहरुसँग राय लिने बताइएको छ। विज्ञहरुले दिने सुझावहरु र जिल्ला जिल्लाबाट आएका सुझावको विश्लेषण गरेर विशेष समितिले राजधानी र नामका लागि सिफारिश सहितको प्रतिवेदन तयार पार्ने र सो काम आगामी ६ महिना भित्रैमा पूरा गरिने समितिका सभापति पुन मगरले बताउनु भयो।