काठमाडौं : असार १ गतेदेखि लागू हुने गरी बढाउने भनेको सार्वजनिक यातायातको भाडादर सरकारले फिर्ता लिएको छ । बिहिबार दिउसो ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले केही घन्टा नबित्दै निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले तत्काल भाडादर लागू नहुने सूचना सार्वजनिक गरेको छ ।यातायात व्यवस्था विभागले सूचना सार्वजनिक गर्दै अर्को सूचना नआएसम्मको लागी भाडा दर पुरानै यथावत रहेको जनाएको छ ।
विभागले असार १ गतेदेखि लागू हुने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने बताएको हो । अधिकतम् १२ प्रतिशत भाडा बढाएको यातायात व्यवस्था विभागले ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ र्निधारण गरेको थियो । त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो ।
यातायात व्यावसायीले पर्याप्त छलफलबिनै भाडा बदाइएको भन्दै आन्दोलनको तयारी गरिरहेका थिए । आन्दोलनको जानकारी पाएपछि मन्त्रालयले यातायात विभागलाई भाडा बृद्धी फिर्ता लिन निर्देशन दिएको थियो । निर्देशन अनुसार नै यातायात विभाग भाडादर बढाउने निर्णय फिर्ता लिएको हो ।