कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नं को अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस गैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको पहिचान हुन नसकेको जानकारी दिए । उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए ।
दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्त नगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।