जेष्ठ ३१, बुटवल उपमहानगरपालिकाले बस्तीमा डोजर चलाएर १६ परिवारलाई विस्थापित गरेको भन्दै प्रदेश ५ को प्रदेशसभा बैठकमा सांसदहरुले बिरोध जनाएका छन् ।
शुक्रबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै समाजवादी पार्टी नेपालका सांसद सन्तोषकुमार पाण्डेले बुटवल उपमहानगरपालिकाले वर्षौंदेखि बस्दै आएका बासिन्दालाई विस्थापित गरेको भन्दै विरोध जनाउनुभएको छ ।
शुक्रबार सांसद पाण्डे र राजपाकी सांसद कल्पना पाण्डे लम्सालले बुटवल १ स्थित वस्तीमा पुगेर विस्थापितहरुका गुनासा सुन्नुभएको थियो । त्यहाँ पुग्दा विस्थापित भएका परिवारले उहाँहरुसंग आफूहरुको अन्य बस्ने जग्गा नभएको भन्दै बसोबासको व्यवस्थाको पहल गरिदिन अनुरोध गरेका थिए ।
वर्षायाम लाग्नै लाग्दा उपमहानगरले मानवीय संवेदनासमेत बिर्सेर विना विकल्प उनीहरुलाई विस्थापित गरेको भन्दै सांसद पाण्डेले आपत्ति जनाउनुभएको छ ।
२०२८ सालदेखि बस्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था विना घरवारविहीन गराउने उपमहानगरपालिकाको कदम निन्दनीय भन्दै सांसद पाण्डेले विस्थापित गराइएका परिवारलाई पुनर्स्थापित गर्न माग समेत गर्नुभएको छ ।
अदालतमा विचाराधीन रहेको उक्त विषयमा बुटवल उपमहानगरपालिकाले वस्ती हटाएर अदालतको अवहेलना गरेको सांसद पाण्डेले दावी समेत गर्नुभएको छ ।