पाल्पा
जेठ, ३२
पाल्पाको सबै स्थानिय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । जिल्लाभरमा एक हजार २०० लाई रोजगारी दिने योजना रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाल्पामा एक करोड ८४ लाख बजेट प्राप्त भएको छ ।
पाल्पाको रामपुर नगरपालिकामा प्रारम्भिक चरणमा नगरपालिकाका ७० युवालाई छनोट गरी काममा लगाइएको छ ।
प्रधानमन्त्री रोजगार कोष मार्फत नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । पहिलो चरणमा नगरका दश वटै वडाका सात÷सात युवालाई समेटेर कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । कार्यक्रमबाट करिब १०० युवालाई रोजगार दिने योजना रहेको नगरप्रमुख थापाले बताए ।
प्रारम्भिक चरणमा रामपुर नगरपालिकाका वडा नं ४, ५, ६ र ७ का बजार क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काममा युवालाई लगाइदैछ । यस कार्यक्रमका लागि नगरपालिकामा चार हजार युवाले आवेदन दिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले जानकारी दिए ।
रामपुर नगरपालिकासँगै रम्भा र रिब्दीकोट गाउँपालिकाले पनि कार्यक्रम शुभारम्भ गरी सञ्चालनमा ल्याएको छ ।
त्यस्तै रिब्दीकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । निस्दी गाउँपालिकामा प्राप्त रु १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।
कार्यक्रमका लागि रु १९ लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगार दिने तयारी थालेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।
यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको रु १३ लाख बजेटबाट ३०० युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । माथागढी गाउँपालिकालाई प्राप्त भएको रु १६ लाख बजेटबाट ३०० युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए ।
बगनासकाली गाउँपालिकाका लागि प्राप्त रु १६ लाख बजेट प्राप्त भएको छ भने युवा छनोट गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४२ लाखबाट १८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख अशोककुमार शाहीले बताए ।