काठमाडौ,असार २ –
चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।
नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी क्युटेकमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न हुनुहुन्छ । नेपालीसहित जापान र श्रीलंकाको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ । अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ ।
बैशाख ५ मा अमेरिकाको भजिएनिया,वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो । १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३ सय ३० ग्रामको छ । नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ ।
प्रत्येक ९० मिनेटमा पृथ्वीमा एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक तीन पटक नेपालको आकाशमा आइपुग्नेछ ।