काठमाडौ ,
असार ४ –
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएपछि सचिवालय बैठक शुक्रबार बोलाउने सहमति भएको हो ।
यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमण सकाएर आएपछि मात्रै बैठक बस्ने गरी स्थगित भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार सचिवालय बैठक राखिएको र बैठकका एजेन्डा भने पुरानै भएको जानकारी दिनुभयो ।
यसअघि जेठ २३ गते नेकपा सचिवालय बैठक बसेको भएपनि बैठक निष्कर्षमा पुग्न नसक्ने देखिएपछि ओली युरोपबाट फर्किएपछि बस्ने गरी स्थगित भएको थियो ।
पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रयास जारी छ ।
इन्चार्ज र सहइन्चार्जको विषयमा ओली पक्ष र माधव नेपाल पक्षबीच विवाद रहँदै आएको छ।