काठमाडौं
पार्टी एकताको १३ महिनापछि सत्तारूढ दल नेकपाले अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच एक्ला–एक्लै भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो ।
दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले भन्यो, प्रतिवेदन प्रकाशनमा आएपछि कार्य दिशामा देखिन थालेको अन्योल हटेर जान्छ ।
प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक कार्यदिशाबारे नेताहरूबीच असमझदारी देखिएको छ । नेकपाले पार्टी एकतापछि अन्तरिम कालका लागि जनताको जनवाद लाई कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो ।
रणनीतिक लक्ष्य समाजवाद र कार्यनीतिक लक्ष्य जनताको जनवाद बनाउने गरी तत्कालीन एमाले र माओवादीबीच गत वर्ष जेठ ३ मा पार्टी एकता भएको थियो ।
तत्कालीन एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद तथा माओवादीले अवलम्बन गर्दै आएको एक्काइसौं शताब्दीको जनवाद र माओवाद लाई एकता महाधिवेशनमा बहसमा लैजाने समझदारी बनेको थियो ।
अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन पनि नहुने र नेताहरूबीचमा कार्यदिशामा मतभेद देखिन थालेपछि तत्कालीन एमाले र माओवादी खेमाबीच भित्रभित्रै विवाद देखिन थालेको थियो ।