बुटवल, असार ९
प्रदेश नम्बर ५ सरकारले ‘बिनियोजन विधेयक २०७६’ पारित गरेको छ । तीन दिन सम्म लगातार छलफल गरी आज विधेयक पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले आ आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा वजेटको कमि भएको देखि राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष दलका रुपमा सदस्यहरुबीच वजेटको बिषयलाई लिएर आरोप–प्रत्यारोप समेत गरेका थिए ।
छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले वास्तविक किसानहरुले अनुदानमा प्राप्त हुने सेवा सूबिधा लिन बाट बन्चित भएको,खेति लगाउने समयमा सधै मलखाँद र बिउ बिजनको अभाव हुने गरेको भन्दै त्यसको सहज व्यवस्था गर्ने व्यवस्था मिलाउन तथा सिंचाइको उचित प्रवन्ध मिलाउन माग गरेका थिए ।
उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धि छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले नदिजन्य पदार्थको अनियन्त्रित दोहन र अबैध निकासी रोकेर राजश्व बृद्धि गर्ने तर्फ प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिदै जडिबुटी निकासीमा हुदै आएको अवरोध हटाउन पहल गर्न माग गरेका थिए ।
सामाजिक विकास मन्त्रालयसँग सम्बन्धि छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले प्रादेसिक अस्पताल र जिल्ला अस्पतालहरुको अवस्था सुधार गरेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औल्याएका थिए
८४ बर्ष उमेर पुगेकाहरुलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत उनिहरुको स्वास्थ्य जाँच मात्र गर्ने कार्य भएको भन्दै औषधि समेत उपलब्ध गराउने व्यवस्था गर्न र ८४ बर्ष पुगेकालाई मात्र नभएर ८० बर्ष कटेकालाई घरमै स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे ।
यसैबीच विनियोजन विधेयक माथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेटको ठूलो हिस्सा प्रदेशको समृद्धिसँग जोडिएका विषयका लागि नै विनियोजन गरिएको बताउनु भएको छ ।
प्रदेशसभाको आजको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले बजेटको चाँपका कारणले पनि कतिपय विषयलाई कम महत्व दिइएको बताउनु भयो ।
उहाले अहिले आएको बजेट भन्दा ठूलो आकारमा बजेट परिचालन गर्ने गरी प्रदेश सरकार लागिरहेको बताउनु भयो।