असार १०,
काठमाडौं –
माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
२०७५ को एसइईको नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ।
परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ।
२०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।
एसईईमा सहभागी हुनेमा छात्राको संख्या धेरै छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिएका थिए।
सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए ।
अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए ।
परीक्षाका लागि एक हजार ९ सय ६९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।